Saturday, May 13, 2017

ए जोगी

कसरि कटौरालाइ संसार मान्ने
अनि संसारलाई कटौरा मान्ने?
सिकाइदे न ए जोगी.
कसरि गेरुलाइ अलंकार मान्ने
अनि अलंकारलाइ गेरु मान्ने ?
सिकाइदे न ए जोगी

कतै त्रिप्तता देखेपछि म प्यांसी नहुन सक्दिन
कतै पीडाले सोला हानेपछि म नरुन सक्दिन
कतै घाउ हरु बढे पछि म नआतिन सक्दिन
कतै नसाहरुले छोए पछि म नमातिन सक्दिन

कसरि भावनालाइ चट्टान बनाउने
अनि चट्टानलाइ  भावना बनाउने ?
सिकाइदे न ए जोगी
कसरि गन्तव्यलाइ स्यानो थोक मान्ने
अनि स्यानो थोकलाई गन्तव्य मान्ने ?
सिकाइदे न ए जोगी

चाहनाले जालो बुन्छ,
त्यो जालोले मलाई थुन्छ
संसार आफ्नै रफ्तारमा हिड्छ
त्यो रफ्तारले मलाई गचेट्छ
चाही नचाहि उसकै भाग बनाउछ
चाही नचाहि उसकै भोगी बनाउछ

कसरि चाहनाको अन्त्य गर्ने
अनि अन्त्यको चाहना गर्ने ?
सिकाइदे न ए जोगी
कसरि संसारलाई सुन्य मान्ने
अनि सुन्यलाइ संसार मान्ने ?
सिकाइदे न ए जोगी

Disqus Shortname

Comments system