Wednesday, May 9, 2018

वसन्तका गोपिनीहरू

कहिले आँखा नगएको ढुङ्गाका कापाहरु बाट,
नजर टक्क अडिने गरी, रंगीचंगी वसन्तका गोपिनीहरू निक्ले।
वसन्त जो बाँसुरी बजाउँदै उत्रिएको छ,
फर्की आउने बाचाहरूलाई माधुरी बनाइ, बजाउँदै आएको छ।
ढुङ्गाका कापका केवल झुसे झार हरू,
अहिले किशोर भएका छन्।
त्यो माधुरीको बयान गर्न, बोली नभएर होला,
आफै फुल भएर अभिव्यक्त गरेका छन्।
यति मधुर वसन्त जो आएको छ।

केवल हावासँग कुस्ती खेल्न बनेका जस्तो लाग्ने रुख हरू,
केवल बिझाउन बनिएका जस्तो लाग्ने झाडीहरू,
वसन्तको प्रवाहले तिनलाई यसरी भिजाएको छ कि,
नाइँ भन्दा भन्दै फुलेका छन् ।
लजाउदा लजाउदै लुकेको कोपिला भई
लुक्दा लुक्दै फेरि हरिया घुम्टी उतार्दै,
रंगी चंगी मुस्कुराउदै खुलेका छन्।

फुल्न यति मजबुर गराउने वसन्त,
त्यो केही समय सम्म, जाडो मात्र झरिरहेको आकाश बाट,
त्यो स्याठ मात्र बहिरहेको कप्टेराहरु बाट,
बाँसुरी बजाउँदै उत्रिएको छ।

No comments:

Post a Comment

Disqus Shortname

Comments system