Thursday, May 24, 2018

चीर बेहोसी

यो बेहोसीमा, होस पनि बेहोस छ।

मानौँ, रातो रङ्गको नदीमा,
यौटा रङ्ग विहीन पानीको थोपा झरे पछि,
त्यो थोपा पनि रातो बन्छ।

यो बेहोसीमा, होस पनि बेहोस छ।

चीर निन्द्रा सुत्ने हरूको ठाउँमा,
घामको झुल्काले उज्यालो को काम गर्दैन।
चीर निन्द्रा सुत्नेलाई,
उज्यालो सँग कुनै सरोकार छैन।

यो बेहोसीमा, होस पनि बेहोस छ।

खाना बोक्न बनिएका,
कामदार कमिला हरू,
अमृतकै थोपा बोके पनि,
अकालमै मर्ने छन्।

यो बेहोसीमा, होस पनि बेहोस छ।

ज्वालालाई हावा सँग चल्नु छ भने,
निभ्नु पर्छ।
हावालाई  ज्वाला सँग चल्नु छ भने
बल्नु पर्छ।
निभ्न सजिलो रैछ....

यो बेहोसीमा, होस पनि बेहोस छ।

माटो फेरिए पछि,
कुनै बिरुवा रुख बन्छन,
कुनै लास........

यो बेहोसीमा, होस पनि बेहोस छ।




Wednesday, May 9, 2018

वसन्तका गोपिनीहरू

कहिले आँखा नगएको ढुङ्गाका कापाहरु बाट,
नजर टक्क अडिने गरी, रंगीचंगी वसन्तका गोपिनीहरू निक्ले।
वसन्त जो बाँसुरी बजाउँदै उत्रिएको छ,
फर्की आउने बाचाहरूलाई माधुरी बनाइ, बजाउँदै आएको छ।
ढुङ्गाका कापका केवल झुसे झार हरू,
अहिले किशोर भएका छन्।
त्यो माधुरीको बयान गर्न, बोली नभएर होला,
आफै फुल भएर अभिव्यक्त गरेका छन्।
यति मधुर वसन्त जो आएको छ।

केवल हावासँग कुस्ती खेल्न बनेका जस्तो लाग्ने रुख हरू,
केवल बिझाउन बनिएका जस्तो लाग्ने झाडीहरू,
वसन्तको प्रवाहले तिनलाई यसरी भिजाएको छ कि,
नाइँ भन्दा भन्दै फुलेका छन् ।
लजाउदा लजाउदै लुकेको कोपिला भई
लुक्दा लुक्दै फेरि हरिया घुम्टी उतार्दै,
रंगी चंगी मुस्कुराउदै खुलेका छन्।

फुल्न यति मजबुर गराउने वसन्त,
त्यो केही समय सम्म, जाडो मात्र झरिरहेको आकाश बाट,
त्यो स्याठ मात्र बहिरहेको कप्टेराहरु बाट,
बाँसुरी बजाउँदै उत्रिएको छ।

Tuesday, April 24, 2018

अनजान नदी

म आएको ठाउँको त म,
सब नदी पोखरी सँग परिचित छु।
यहाँ सम्मकी जन्मिएका माछा, बनेका ढुङ्गा
ठ्याक्क तापक्रम, अनि मुखमा छिट्टा पर्दाको स्वाद
गहिराइ, रफ्तार
सब ।
तर अनजान नगरको यात्रामा भेटिएको
अनजान नदी तिमि ।
तर्न त पर्ने छ,
तर तर्न डर छ ।
कति सम्म गहिरो हुन सक्छौ, के थाहा ।
कति सम्म वेगले कुद्न सक्छौ, के थाहा ।
गोही घडियालपो लुकाएर राखेको छौ कि, के थाहा ।
तर्नलाई खुट्टा त राखे, तर कसरी तर्नु पर्ने हो, के थाहा ।  
चुपचाप तर्न दिन्छौ कि, लछार्छौ, पछार्छौ, डुबाउँछौ, के थाहा ।  

Sunday, March 11, 2018

पाहुना

यी झाडीहरूले, यसरी बोकिरहेछन हिउँलाई,
खस्ला झैँ गरेर l
जसरी बोक्छन् अलक्क औंलाहरुले लट्ठी,
सन्तुलन मिलाई गोठे लौरी खेल्दा l

यसरी बोकिरहेछन हिउँलाई,
गर्वको कारण ठानेर,
सानले, कुनै कठिन कार्यको जित जनाउने तक्मा जसरी l

यी झाडीहरूले, यसरी बोकिरहेछन हिउँलाई,
छोयिएर बिग्रेलाझैं गरेर,
जसरी भर्खर जन्मिएको शिशुलाई,
आमाले अलक्क चेप्छिन काँखमा,
दुख्ला झैँ गरेर l

यसरी बोकिरहेछन हिउँलाई,
कुनै बहुमूल्य रत्न झैँ पहिरिएर,
सधैँलाई आफैमाथि सजाउँला झैँ गरेर l

यी झाडीहरूले, यसरी बोकिरहेछन हिउँलाई,
कुनै अचम्मको चमत्कार भएको झैँ गरेर l
वर्षौँ देखिको सपना, बिपनाले भेटाएझैं गरेर l
आकाशको बादल थपक्क आफू माथि बसेको झैँ गरेर l

यसरी बोकिरहेछन हिउँलाई,
खुकुलो समातेर l
कठोर पन्जाले दुखाएर जाला झैँ गरेर l

यी झाडीहरूले, यसरी बोकिरहेछन हिउँलाई,
नाजुक हत्केलाले माया गरेर l
बिदाइको दिन नजिक आउँदै गरेको प्रियजनलाइ,
माया नै माया बिछ्याईदिएको झैँ गरेर l

यसरी बोकिरहेछन हिउँलाई,
कुनै जाँदै गरेको हृदयको टुक्रालाई,
नजाओस झैँ गरेर l

यी पराइ हिउँलाई,
यसरी ठाउँ दिएर,
आफ्नै कोपिला ठानेर l

तर पग्ली जानेछन् हिउँ,
यति कठोर बनेर,
न्यानो मायालाई पनि,
चिसो रुझाएर l

Tuesday, January 23, 2018

एक ठुन्का माया

ठुन्का भैसकेको गोलो रोटि बाट अझै एक ठुन्का चुडेर
ला खा भनि दिन्छिन
मेरो पेट भरि नै भए पनि खाइदिञ्छु फेरि
त्यो एक ठुन्का रोटि कहाँ हो र?
एक ठुन्का माया पो हो त.....
उनले गर्ने असिम मायाको स्यानो अभिव्यक्ति.....

Disqus Shortname

Comments system