Thursday, May 24, 2018

चीर बेहोसी

यो बेहोसीमा, होस पनि बेहोस छ।

मानौँ, रातो रङ्गको नदीमा,
यौटा रङ्ग विहीन पानीको थोपा झरे पछि,
त्यो थोपा पनि रातो बन्छ।

यो बेहोसीमा, होस पनि बेहोस छ।

चीर निन्द्रा सुत्ने हरूको ठाउँमा,
घामको झुल्काले उज्यालो को काम गर्दैन।
चीर निन्द्रा सुत्नेलाई,
उज्यालो सँग कुनै सरोकार छैन।

यो बेहोसीमा, होस पनि बेहोस छ।

खाना बोक्न बनिएका,
कामदार कमिला हरू,
अमृतकै थोपा बोके पनि,
अकालमै मर्ने छन्।

यो बेहोसीमा, होस पनि बेहोस छ।

ज्वालालाई हावा सँग चल्नु छ भने,
निभ्नु पर्छ।
हावालाई  ज्वाला सँग चल्नु छ भने
बल्नु पर्छ।
निभ्न सजिलो रैछ....

यो बेहोसीमा, होस पनि बेहोस छ।

माटो फेरिए पछि,
कुनै बिरुवा रुख बन्छन,
कुनै लास........

यो बेहोसीमा, होस पनि बेहोस छ।




Wednesday, May 9, 2018

वसन्तका गोपिनीहरू

कहिले आँखा नगएको ढुङ्गाका कापाहरु बाट,
नजर टक्क अडिने गरी, रंगीचंगी वसन्तका गोपिनीहरू निक्ले।
वसन्त जो बाँसुरी बजाउँदै उत्रिएको छ,
फर्की आउने बाचाहरूलाई माधुरी बनाइ, बजाउँदै आएको छ।
ढुङ्गाका कापका केवल झुसे झार हरू,
अहिले किशोर भएका छन्।
त्यो माधुरीको बयान गर्न, बोली नभएर होला,
आफै फुल भएर अभिव्यक्त गरेका छन्।
यति मधुर वसन्त जो आएको छ।

केवल हावासँग कुस्ती खेल्न बनेका जस्तो लाग्ने रुख हरू,
केवल बिझाउन बनिएका जस्तो लाग्ने झाडीहरू,
वसन्तको प्रवाहले तिनलाई यसरी भिजाएको छ कि,
नाइँ भन्दा भन्दै फुलेका छन् ।
लजाउदा लजाउदै लुकेको कोपिला भई
लुक्दा लुक्दै फेरि हरिया घुम्टी उतार्दै,
रंगी चंगी मुस्कुराउदै खुलेका छन्।

फुल्न यति मजबुर गराउने वसन्त,
त्यो केही समय सम्म, जाडो मात्र झरिरहेको आकाश बाट,
त्यो स्याठ मात्र बहिरहेको कप्टेराहरु बाट,
बाँसुरी बजाउँदै उत्रिएको छ।

Disqus Shortname

Comments system