Saturday, August 20, 2016

रंगमंच

विभिन्न पात्र बन्नुपर्ने यो जीवनमा,
तिमि कसैका लागि सहारा भयौ होला
कसैका लागि आहारा भयौ होला

म पनि त
चर्केको भित्तो, तै नि
आड कसैको
तिल जस्तो अणु, तै नि
पाहाड कसैको

यो अनेकन चरित्र निभाउनु पर्ने भुमंडलमा
कसैको तिमि, मालिक भयौ होला
कसैको तिमि, शालिक भयौ होला।

म पनि त,
प्याशी प्याशी. तै नि
तृप्ति कसैको
अँध्यारो अँध्यारो, तै नि
दिप्ती कसैको

यो एक भएर पनि, अनेक हुनु पर्ने ठाउँमा...

तिमि मेरा लागि, केवल इत्तर भएछौ
म तिम्रा लागि केवल , हावा भएछु
तिमि मेरा लागि केवल , रहर भएछौ
म तिम्रा लागि केवल, बटुवा भएछु ।

Sunday, August 14, 2016

मौनता

मौनता असहजता बनि आउछ,
आवाज निकाल्न आधार चाहिन्छ,
मेरो वरिपरि सुन्यता छाउँछ
अरु बोलीले जल्छन, म मौनताले जल्छु

मौनता यस्तो,
तिम्रो अघि हुदा ,
म बन्द कोठामा कैद हावाको पनि
आवाज सुन्न थाल्छु।
म स्थुल भैसकेको पर्दाको पनि
सर्सराहाट सुन्न थाल्छु।

असहजता यस्तो कि ,
यो बन्द कोठाकै
हावा बनेर बिलाउँ।
यस्तोकी आफ्नै सरिर ,
सिलाइमा बिग्रेको लुगा झैं बनेको छ,
अनि म त्यो बिग्रेका भागको
ढाकछोप गर्दैछु ।

तर मेरो असहजताको कारण तिमि हैन,
म नै हुँ
मेरो मौनताको कारण तिमि हैन ,
म नै हुँ

तर डर त यसको बडी छ
तिम्रो मौनताको कारण म त हैन?

Disqus Shortname

Comments system