Saturday, November 21, 2015

एउटा सम्भावना

रित्तिदै गरेको यो मरुस्थलमा एउटा आशाको किल्कारी गुन्जियो।
उ कुनै अशल बिज बनेर यो धर्तिको माटोमा झर्यो।
एउटा सम्भावनाको उत्पति भयो,
यस्तो सम्भावना जसले यो मरुभूमिमा मरुद्यान बनाउन सक्थ्यो।

उ स्वछन्द थियो,
dandelion जस्ता उसका बिचारधाराहरु थिए।
उ हर उत्तरमा एउटा प्रश्न चिन्ह देख्थ्यो,
उ निराकार थियो ,
कुनै आकारको हुनै सक्थेन ,
त्यसैले उ एउटा सम्भावना थियो।

तर स्वछन्दताको परिधि बाट खोसियो
उसका खुला बिचारधाराहरु।
अनि उसका खुला प्वाख बोझिलो बनाउन,
सुम्पियो छुट्टै अभिभाराहरु।
उसका प्रश्न चिन्हहरु,
विरोधाभासका बोझले iron गरेर
पूर्णबिराम बनाइयो।

उसका निराकार्तालाई आकारको बनाउन,
विभिन्न हात हरु अघि बढे।
हिड्दा लाग्ने ठेसहरु,
अनि बस्दा झर्ने केशहरु,
गन्न सिकाइयो।
असफल भइन्छ थाहा थियो,
तर उसलाई आतिन सिकाइयो।
पिडा हुन्छ थाहा थियो,
तर उसलाई रुन सिकाइयो।
आफ्नो सोच अरुको अधीनमा राखेर,
उसलाई हिड्न लगाइयो।

उ भित्रका इशलाइ बिष पिलाएर,
अनि बाहिर कतै उसका सिष नुगाएर,
निरर्थक किचिर पिचिर बुझ्न लगाइयो।
नियमका अनेक चादर पुझ्न लगाइयो ।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई अनुन्याई बनायो।

जीवन त जिउनु मा थियो,
तर केवल उ रथको पांग्रा भयो।
मजा त पिउनुमा थियो,
तर केवल उ खोक्रो गाग्रा भयो।
उ यात्री थियो तर लगामको बन्यो,
केवल कसैको कामको बन्यो,
उसका बाटो बनाउने छ्यमता भगाइयो।
र अरुको पाइला सुङ्ग्दै हिड्न लगाइयो।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई कमिला बनायो।

उ भित्र भएका आत्माअनुभूतिलाई
बिष भनेर ओकेल्न लगाइयो।
बालिका बोकाहरुलाई स्वार्थको अग्निमा
सहिद हुदैछौ, भनेर झुक्काइयो।
अनि उसलाई गलाइकन साँचोमा हालेर,
चाहना अनुशारको आकार दियियो।
अब उ गल्नेछ अरुका निमित्त।
अब उ जल्नेछ अरुका निमित्त।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो।
तर, यसरि कसैले उसलाई मैनबत्ती बनायो।

कर्तव्य रुपी तिखा ढुंगाहरुमा
कुटिएर, पिटिएर, चुटिएर
उसका गिलापन हरुलाई, पत्रे चट्टान जस्तो बनाइयो।
उसका कोमलतामा धार निकालेर, बहुमुल्य जीवन सस्तो बनाइयो।
आत्माभछ्यक बाटोलाइ क्रान्तिको नाम दिएर,
बाटोमा जे आउछ त्यो छिन्न लगाइयो।

एकादेशमा एउटा सम्भावना जन्मिएको थियो
तर, यसरि कसैले उसलाई तरबार बनायो।

अरुको आकारमा ढल्दा ढल्दै,
उसले आफ्नै आकार बिर्सियो।

त्यो सम्भावना अः तः सम्भावना भइ बिलायो ....

Tuesday, November 3, 2015

...........

अनि म तिमि बनेर आफैलाई हेर्छु
तिमीलाई हेर्दै गरेको आफुलाई देख्छु
यी मौनता मा कुनै संवादहरु छुपेका छन्
जुन आभाका चमकमा चम्किन्छन् र द्रिस्यत्मक हुन्छन

तर चुम्मक जस्ता मस्तिस्क भित्रको खल्बलिमा
फलाम जसरि टालिन्छन् हाम्रा मौनताहरु
भरियाले भारी बिसाए सरि, पानीले बल्ल बल्ल बिसाएका माटाका कणहरु
फेरि नाच्न थाल्छन कुनै सुफी सैलिमा फनन घुम्दै
अनि धमिलिन्छन् पत्रे चट्टान् बन्न नपाउंदै

तर जब म तिमि बनेर मलाई हेर्छु
तब यी आँखामा तिमि बन्ने चाहना देख्छु
र मौनता मा चिचाउछु
म तिमि हो
तिमि म नै हो

किनकि संवाद मा मौनता पोख्ने लाई यहाँ पागल भनिन्छ
अनि पागलको कुरा तिमि सुन्दैनौ
र मौनता मा चिचाउछु
म तिमि हो
तिमि म नै हो

तर धमिलिएको पानीमा आफ्नै प्रतिमा कहाँ देखिन्छ र?
जब आँखा खोल्न नजानी प्रकाश खोजिन्छ, कहाँ भेटिन्छ र?
धमिलो मा संग्लो मिसाउँदैमा, कहाँ संग्लिन्छ र ?
यात्रु थाक्दैमा थालेको यात्रा, कहाँ सकिन्छ र?

त्यसैले फेरि आँखा चिम्लेर गहिरो स्वाश लिन्छु
अनि म तिमि बनेर आफैलाई हेर्छु
तिमीलाई हेर्दै गरेको आफुलाई देख्छु
यी मौनता मा कुनै संवादहरु छुपेका छन्
जुन आभाका चमकमा चम्किन्छन् र द्रिस्यत्मक हुन्छन

तर चुम्मक जस्ता मस्तिस्क भित्रको खल्बलिमा
फलाम जसरि टालिन्छन् हाम्रा मौनताहरु.........

Monday, November 2, 2015

छाल

रोकिन हुन्न भन्थे सबैले, दौडी रहनु पर्छ
देख्दैनस सबको रफ्तार? पौडी रहनु पर्छ

मलाई भने चौतारी मा बसेर, टोलाउन गज्ज़ब लाग्थ्यो
तर हावाले झापु हान्दै भन्थ्यो, चलि रहनु पर्छ

घुटन हुन्थ्यो हरपल, जब बद्यतामा गर्थे हलचल
रफ्तार नै जिन्दगि हो भनेत, म जलि रहनु पर्छ

पिजडा बाट उन्मुक्त चरी फेरि उड्न कसरि सिकाउँ?
कैलेकहीं म आफै मनको कैदमा, अल्झी रहनु पर्छ

आवाज आफै आउछ, जब मनमा सन्नाटा छाउँछ
तब निसब्द हुन्छु जब, म बोलि रहनु पर्छ

के को खोज मा छटपटिदैछु, मलाई थाहाछैन
बस यति थाहा छ  हजुर, केहि खोजि रहनु पर्छ

सबैलाई सन्तुस्ट पार्न खोज्नु, पनि  रोगनै रहेछ
कसैको मलम बन्न, कोहि दुखि रहनु पर्छ

कहिले कहीं त लाग्छ म नै, मेरो बिद्वन्शकारि हुँ
जब बद्यताको नाममा आफुनै आफ्नो, बन्दि रहनु पर्छ

तब तन्किदा तन्किदै यी ओठ दुख्न थाल्छन
जब हो मा हो मिलाएर यस्सै, हाँसी रहनु पर्छ

प्रमोद

Disqus Shortname

Comments system