Sunday, December 3, 2017

गुनासो

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
कि त कौसीमा बसेर आकास तिर टोलाउँछु।
कि त ढोका बन्द राखी सिमाना कोरिदिन्छु।

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
घर मै भएर पनि घरमा नहुने कस्तो,
महिनाको एकदिन झुल्किने पुर्णिमा जस्तो।

ममी गुनासो गर्नुहुन्छ,
कि म एक्लै बस्न रुचाउँछु।
बसे पनि संगै,मोबाइल चलाई,
हामि हुनु नहुने ले फरक पर्दैन तलाई।

तर म यो कहिले भन्न सक्दिन,
फरक पर्छ,
हजुरले साँझ बत्ति बालि,
नेपाली एसेन्टमा हिन्दि भजन गाउँदाको आवाज संगै,
मैले हेर्ने सुर्यास्त,
र घर सुनसान हुदा हेर्ने सुर्यास्तमा,
फरक पर्छ,
त्यो सुर्यास्तमा त्यहि गहकिलो रंग हुदैन।


ढोकै लगाएर बसे पनि,
हजुर र ड्याडिको गुनगुन सुन्दै एक्लै कोठामा बस्नु,
र घरमा कोहि नहुदा एक्लै कोठामा बस्नुमा,
फरक पर्छ,
त्यति बेला म साच्चिकै एक्लै महसुस गर्छु।

मैले यो कहिले भन्न सकिन,
मोबाइल मै टाउको नुगाये पनि,
मेरो अन्तरमनले.
हजुरले कातेको बत्ति र हजुरलाई हेरिरहेको हुन्छ।
ओठले कम बोले पनि,
हृदयले हजुरको साथ् महसुस गरि रमाइरहेको हुन्छ। 

जब राति सुत्छु,
यो कोठाको भित्ता पारि,
हजुरहरु हुनुहुन्छ भन्ने भावले,
मनलाई न्यानो बनाइदिन्छ।

फरक पर्छ...

घरमा कोहि नभएको दिन,
म ढोका खोलेरै बस्छु, हजुर आउने समय कुरेर,
कौसिमै निक्ले पनि आउने बाटोमा हेरेर बस्छु,
मोबाइल नै चलाए पनि फोन गर्न चलाउँछु,

म एक्लै बस्न रुचाउँछु, तर हजुरकै वरिपरि....



No comments:

Post a Comment

Disqus Shortname

Comments system